एसवाई प्यानल नेपाल लिमिटेडले आगामी कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (शेयर) जारी गर्ने भएको छ। यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। अब उक्त प्रक्रियापछि कम्पनीले सार्वजनिक निष्काशनको दोस्रो चरण सुरु गर्न लागेको हो।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत बराबर ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो। पहिलो चरणमा कम्पनीले २ लाख ६१ हजार ६२९ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई र ४ लाख ९७ हजार ९२ कित्ता शेयर विदेशमा रहेका नेपालीहरूलाई जारी गरिसकेको छ। साथै, कम्पनीले कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर छुट्याएको छ।
अब कम्पनीले सार्वसाधारण लगानीकर्ताका लागि प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले ४० लाख ७६ हजार १५६ कित्ता शेयर सार्वजनिक गर्ने तयारी गरेको छ, जसको कुल मूल्य ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँ बराबर हुन्छ।
न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन अवधि छिटोमा कात्तिक २३ गतेसम्म र ढिलोमा मंसिर ३ गतेसम्म रहनेछ।
आईपीओको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी (ICRANP IR BB)’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।
यस आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखामार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार