सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सालपा विकास बैंक लिमिटेडले मंसिर २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्दै शेयर बिक्री खुला गर्ने भएको छ।

बैंकलाई जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँमध्ये ३३ प्रतिशत बराबरका १७ करोड २३ लाख ८८ हजार रुपैयाँ, अर्थात् १७ लाख २३ हजार ८८० कित्ता शेयर सार्वजनिक गर्ने अनुमति प्राप्त छ। यीमध्ये १० प्रतिशत अर्थात् १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँ बराबरका प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता शेयर विदेशमा श्रम स्वीकृति लिएर कार्यरत नेपालीहरूका लागि छुट्याइएको छ।

आवेदन अवधि मंसिर २५ देखि मंसिर २९ गतेसम्म खुला रहनेछ। उक्त अवधिभित्र मागअनुसार आवेदन नपरेमा पुस १० गतेसम्म निष्काशन अवधि स्वचालित रूपमा लम्बिनेछ। विदेशस्थित नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ।

आईपीओका लागि प्राप्त रेटिङ्ग अनुसार, इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई IRN Single B Issuer Rating प्रदान गरेको छ, जसले संस्थाले समयमा वित्तीय दायित्व पूरा गर्न जोखिम उच्च रहेको संकेत गर्छ।

यस आईपीओको इश्यू म्यानेजर मुक्तिनाथ क्यापिटल लिमिटेड रहँदै आएको छ। श्रम स्वीकृति प्राप्त गरि विदेशमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको आस्बा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।