शेयरबजारमा महिला लगानीकर्ताको आकर्षण

काठमाडौं । 

शेयरबजार सबैको चासोको विषय बनिसकेको छ । शेयरबजारमा लगानीकर्ताहरू थपिँदै छन् । अझ सुखद् पक्ष त यो क्षेत्रमा महिला लगानीकर्ताको आकर्षण बढ्दो छ । त्यसमा पनि गृहिणीहरूको चासो बढी छ । यति मात्रै होइन, पुँजी बजारको नेतृत्वदायी भूमिकामा पनि महिलाहरू नै छन् । 

चाहे प्राथमिक वा दोस्रो बजारमा होस्, महिलाहरूको संग्लनता विगतमा त्यति नदेखिए तापनि अब दिनानुदिन बढिरहेको देखिन्छ ।

घरकै काममा मात्र व्यस्त हुने गरेका गृहिणी महिलाहरु आजभोलि शेयर बजारको उत्तारचढाब हेरेर बस्न थालेका छन् विगतको भन्दा   डिम्याट (हितग्राही)खाता खोलेर आइपिओ भर्ने महिलाको संख्या पनि निकै नै वृद्धी भएको देखिन्छ ।

आर्थिक उपार्जनका काममा महिला सहभागिता बढिरहेका बेला शेयर बजारमा पनि महिला लगानीकर्ताको संख्या बढ्नु स्वभाविक भएको विश्लेषण गरिएको छ । यता, प्राथमिक शेयर भर्नका लागि मात्र नभई विगत केही वर्षदेखि शेयर दलाल कम्पनीहरूमा शेयरको कारोबारका लागि पुग्ने महिलाहरुको संख्या पनि बढ्दो नै छ । 

शेयरको कारोबार गर्दा जागिर खाएकोजस्तो नियमित १० बजेदेखि पाँच बजेसम्म कार्यालयमा बसेर काम गर्न नपर्ने र ११ बजेदेखि ३ बजेभित्रमा आफ्नो फुर्सदमा मात्र लागे पनि हुने, विशेष योग्यता पनि नचाहिने, सामान्य लेखपढ, सामान्य योग्यता भए पनि शेयर कारोबार गर्न सकिने भएकाले पनि यो क्षेत्रमा महिलाको सहभागिता बढेको हो । 

हुन त शेयरबजामा मात्र नभई, देशको हरेक क्षेत्रमा महिलाहरूको संलग्नता बढिरहेको छ । देशका संवैधानिक पदहरूमा महिलाहरूको संलग्नता छ । 

तर महिलाहरूको फुर्सदको समय सदुपयोग र केही आम्दानी पनि गर्न सकिने भएकाले र बाहिरी ज्ञान पनि प्राप्त गर्न सकिने भएकाले खासगरी गृहिणीहरूको संलग्नता बढी देखिएको हो । 

आफैं केही गरेर जीविकोपार्जन गर्छु भन्ने महिलालाई शेयर बजार एउटा राम्रो रोजगार तथा कमाउने अवसरको क्षेत्रको रुपमा देखिएको छ । महिलाहरुले घरायसी काम सकेर थोरै रकम लगानी गरेर पनि आर्जन गर्न सकिन्छ भन्ने सोचले पछिल्लो समय महिलाहरु आकर्षित भएको देखिन्छ ।

पछील्लो समय दोस्रो बजारमा दैनिक लगानी गर्ने लगानीकर्ताको संख्या नै उल्लेख्य रुहेको छ । महिलाहरुमा पनि अहिले आफैं केही गर्नुपर्छ भन्ने चेतना बृद्धि भएकोले पनि पछिल्लो समय गृहणी देखी जागिरे महिलाहरु पुँजी बजारमा आउने क्रम बढेको छ । 

आफ्नो पारिवारिक दायित्व पूरा गरी फुर्सदको समयमा शेयरमा कारोबार वा लगानी गरी परिवारको आर्थिक उन्नतिमा साझेदार बन्न सक्नु महिलाका लागि गौरवको विषय नै हो ।

आफूसँगै भएको स–सानो पूँजी लगानी गर्ने र फुर्सदको समयलाई सदुपयोग गरी आत्मनिर्भर हुन सकिने शेयर बजारमा शहरी क्षेत्रमा महिला सहभागिता पछिल्लो समय बढ्दो क्रममा भए पनि ग्रामीण क्षेत्रका महिला भने अझै यस क्षेत्रमा आकर्षित हुनसकेका छैनन् । अझ पनि उनीहरूमा शेयर बजार सम्बन्धी ज्ञान छैन । 

शेयर बजार पूँजी निर्माणको महत्पूर्ण आधार हो । ठूला–ठूला उद्योग, व्यापार, भौतिक पूर्वाधार लगायत क्षेत्रको विकासका लागि विदेशी दातृ निकायसामु सहयोगको हात पसार्नुको साटो आफ्नै देशमा छरिएर रहेका स–साना पूँजीहरू एकत्रित गर्दै लगानी गरी देश विकास र जनताको जीवनस्तर दुवै सुधार्न सकिन्छ ।

शेयर बजारले महिलाहरूलाई पैसा मात्रै चिन्ने बनाएको छैन, उनीहरू आर्थिक व्यवस्थापन, वित्तीय चेतना लगायत विषयमा पनि जानकार भएका छन् । महिलाहरू आर्थिक पक्षमा जानकार भएका मात्रै होइनन् उनीहरूलाई राम्रो वित्तीय शिक्षा समेत शेयर बजारबाट प्राप्त भइरहेको छ । 

तर अझै पनि तथ्याङकमा मात्रै महिलाको उपस्थिती देखाएको हो कि भन्ने प्रश्न पनि कतिपय अवस्थामा खडा भइरन्छ । श्रीमानहरुले नै श्रीमतीको नाममा शेयर खरीद गर्ने प्रवित्ति अझै पनि छ । कतिपय ग्रामिण भेगका महिलाहरु शेयर किनबेच गर्नको लागि श्रीमान वा अरु साथीभाईले सुझाएका कुरालाई धारणा बनाएर अगाडी बढेका हुन्छन् । 

वास्तविक महिलाको उपस्थिती जनाउन बजारमा महिलाहरुमा वित्तीय चेतनाको विकास गर्न सके मात्र त शेयर बजारमा महिलाहरुको उपस्थिती राम्रो हुन सक्छ । अझ धेरै महिला शेयर बजारबाट बाहिर छन् । धेरैमा वित्तीय चेतना छैन । ग्रामीण भेगका विपन्न महिलालाई पनि शेयर बजारमा ल्याउनु जरूरी छ । उनीहरूलाई आर्थिक उपार्जन गराएर महिला आफैं सक्षम छन् भन्ने देखाउनु आजको आवश्यकता हो ।

शेयरबजार लगानि गर्नेहरुले पनि शेयरबजार सधैं फाइदामात्र हुने होइन, यसमा जोखिम पनि हुने गर्छ यो बिषय जानेर मात्र लगानी गर्नु आवश्यक छ । शेयरबजार सधैं उकालोमात्र लाग्ने गर्दैन, ओरालो पनि लाग्छ । उकालो चढ्ने र ओरालो लाग्ने शेयरबजारको गुण नै हो । 

शेयरबजारमा प्रवेश गर्न चाहने महिलाले अरूको लहैलहैमा, अरूले शेयरबजारबाट कमाएको देखासिकी गरेर, हल्लाको भरमा लगानी गर्न उपयुक्त हुँदैन । सेयरबजारलाई बुझेर, बजारका बारेमा अध्ययन गरेर लगानी गर्नुपर्छ । सेयर कारोबारमा उतारचढाव भइरहन्छ । कम्पनीहरूको विस्तृत रूपमा अध्ययन गरेर दीर्घकालीन योजनासाथ लगानी गर्नु आवश्यक देखिन्छ ।