ब्रेकिङ न्युज
जोमसोम— म्याग्दीबाट मुस्ताङतर्फ जाँदै गरेको मोटरसाईकल बिहिबार साँझ म्याग्दीको अन्नपूर्ण —३ काभ्रेभीरमा दुर्घटना भएको छ । म्याग्दीको काभ्रेगाउँको १५ सय मिटर उत्तरतर्फको भिरालो सडकमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक जर्मन नागरिक अहिले भीरमै अड्किएको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको म्याग्दी प्रहरीले जनाएको छ ।
काभ्रेभीरबाट मोटर साईकल खसेर जर्मन नागरिक भीरमै अड्किएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय म्याग्दी प्रहरी निरीक्षक कुमार गुरुङले emustangnews.com लाई जानकारी दिए । सूचना प्राप्त भएसंगै जिल्ला विपद् व्यवस्थापन समिति बाग्लुङ,म्याग्दी र सशस्त्र प्रहरीको करिव २० जनाको टोली उद्दार सामाग्रीसहित घटनास्थलतर्फ जाँदै गरेको प्रहरी निरीक्षक गुरुङले उल्लेख गरे ।
यता, मुस्ताङबाट पनि नेपाली सेनाको १३ जनाको टोली काभे्रभीरको घटनास्थलमा पुगेको स्थानीय प्रकाश शेरचनले जानकारी दिए ।शेरचन अहिले घटना स्थल नजिक छन् । उनका अनुसार रात परेकाले उद्दारकार्य कठिनाई हुने बताए । उनले मोटरसाईकलसहित खसेका विदेशी नागरिकको अवस्था बारे अहिल्यै केही भन्न नसक्ने बताए ।
घटनास्थलका एक स्थानीयले म्याग्दी हुँदै करिव १५ जनाको टोली मुस्ताङतर्फ जाँदै गर्दा एक मोटरसाईकल भीर बाट खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरे ।
म्याग्दी र बाग्लुङबाट घटनास्थलतर्फ जाँदै गरेको उद्दार टोली म्याग्दीको तातोपानी क्रस भएको बताईएको छ । राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडकखण्डको सबै भन्दा जोखिमयुक्त सडक काभ्रेभीर हो । त्यहाँ चट्टान काटेर सडक विस्तार गरिएको छ । मोटरसाईकल कालिगण्डकीमा खसेको र चालक भीरमा अड्किएको अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।
फोटो क्याप्सन : घटनास्थल म्याग्दीको अन्नपूर्ण —३ काभ्रेभीर