मुस्ताङमा बिना भन्सारको भारतीय गाडी नियन्त्रणमा

जोमसोम—मुस्ताङमा अवैध रुपले ल्याईएको बिना भन्सारको भारतीय निलो रङको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । म्याग्दी र  मुस्ताङको सीमाक्षेत्र घाँसा प्रहरी चौकीको चेक पोष्टले भारतबाट मुस्ताङ ल्याईएको  केए ०३ एनसी ०४३२ नम्बरको अवैध गाडी बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ  ।

घाँसा प्रहरी चौकीले  पर्यटकको परमिट र सवारी भन्सार राजश्व बुझाएको नबुझाएको चेकजाँच गर्ने क्रममा उक्त गाडीका भन्सार राजश्व बुझाएको कागजात नभएपछि भारतीय गाडीलाई  प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए । 

भारतीय नम्बर प्लेटका गाडीहरु नेपालमा ल्याउँदा दैनिक ६ सय रुपैया र मोटरसाईकल २ सय रुपैयाका हिसाबले सम्वन्धित निकायको भन्सार कार्यालयलाई अनुमतीका लागि राजश्व बुझाउनु पर्ने हुन्छ । यसरी राजश्व तिरेर भित्रिएका सवारी साधनहरु नेपालमा एक वर्षमा ३० दिन भन्दा बढी राख्न नपाईने नियम रहेको मुस्ताङ भन्सार कार्यालयका नायव सुब्बा होमबहादुर बिष्टले जानकारी दिए ।

मुस्ताङ प्रवेश गर्ने सीमानाका घाँसामा प्रहरी चौकीमा चेकजाँच हुँदा उक्त भारतीय गाडीका धनीले भन्सार राजश्व बुझाएको प्रमाण पेश गर्न नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी चौकी घाँसाले नियन्त्रणमा लिईएको गाडी जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पेश गरेको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको गाडी मुस्ताङ भन्सार कार्यालयलाई जिम्मा लगाएको प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए ।

मुस्ताङ भन्सार कार्यालयले नियन्त्रणमा लिएको भारतीय गाडीको १५ दिने हबदावी सूचना जारी हुँने र सो अवधिमा सम्वन्धित व्यक्तिले भन्सार राजश्व बुझाएको प्रमाण पेश गर्नुपर्ने भन्सार कार्यालयका नायव सुब्बा होमबहादुर बिष्टले उल्लेख गरे ।