श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्दै

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आगामी भदौ ११ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको १ प्रतिशत अर्थात १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयरमा रुपन्देही र पाल्पा जिल्लाका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन अवधि छिटोमा भदौ २५ गते र ढिलोमा असोज ९ गतेसम्म रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने रेटिङ प्रदान गरेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नबिल बैंकको तानसेन, पाल्पा र फरसाटिकर शाखा, रुपन्देही, एनएमबि बैंकका तानशन, पाल्पा र फरसाटिकर शाखा तथा ग्लोबल आइएमई बैंकका तानसेन, पाल्पा शाखाबाट आवेदन दिन सक्नेछन्। उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।