लघुवित्तले अब २५ प्रतिशतसम्म लाभांश दिन पाउने

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूको लाभांश वितरणसम्बन्धी व्यवस्था संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब लघुवित्तहरूले अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछन्। यसअघि उनीहरूले बढीमा १५ प्रतिशत मात्र लाभांश दिन पाउँथे।

नयाँ मापदण्डअनुसार, निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन सक्ने छन्। निष्क्रिय कर्जा ५ देखि १० प्रतिशतबीच भएमा २० प्रतिशतसम्म लाभांश दिन सकिनेछ। १० देखि १५ प्रतिशत निष्क्रिय कर्जा भएका संस्थाले १५ प्रतिशतसम्म लाभांश दिन पाउनेछन्। तर, १५ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा भएका लघुवित्त संस्थाहरूलाई भने लाभांश वितरण गर्न अनुमति दिइएको छैन।

यस्तै,पूँजीकोष अनुपात कम्तीमा ९ प्रतिशत कायम गरेकाले मात्रै नगद लाभांशको प्रस्ताव गर्न पाउने छन् । तोकिएको चुक्ता पूँजी पुर्‍याउन नसकेका कम्पनीले कर प्रयोजनबाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरिएको छ। यद्यपि, यस्ता संस्थाहरूले बोनस सेयर भने वितरण गर्न सक्नेछन्।

यसअघि १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न चाहेमा सोभन्दा माथिको लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा र थप १५ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने प्रावधान थियो। सो व्यवस्थाका कारण लघुवित्तहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सकेका  थिएनन् ।