छ्याङ्दी हाइड्रोपावरले जेठ २३ गतेदेखि शतप्रतिशत शेयर निष्काशन गर्ने

छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।


कम्पनीले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर  निष्काशन गर्नेछ ।


उक्त हकप्रद सेयरको लागि छ्याङ्दीले जेठ २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । छ्याङ्दी हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।


हाल कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।


यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।