मनि ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जना पक्राउ

काठमाडौं ।

रौटहटको परोहा नगरपालिका–९ स्थित शिव मनि ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सबै भारतीय नागरिक हुन् ।

आज अपराह्न १ बजेतिर आइएमई सञ्चालक २४ वर्षीय नितेश साहलाई गोली हानी भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

घटना संलग्न भारत विहार पूर्वी चम्पारण मोतिहारी दीपही–२ बस्ने १८ वर्षीय किशोरसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काउन्टरमा काम गरिरहेको अवस्थामा उनीहरुले सञ्चालक साहमाथि गोली प्रहार गरी फरार भएका थिए ।