अधिकांश वाणिज्य बैंकहरुले चैतका लागि घटाए ब्याजदर

काठमाडौं । 

२० वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । अधिकांश वाणिज्य बैंकहरुले चैत महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । 

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।

बैंकहरूले व्यक्तिगत मुद्दतीमा जति ब्याजदर तोकेका छन्, संस्थाहरुलाई त्यसको १ प्रतिशत विन्दु कम हुन्छ । प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले घटाएका छन् ।

माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको थियो । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ ।

एनआईसी एसिया बैंकले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ। सो बैंकको चैतदेखि लागू गर्ने गरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत छ।