आन्दोलनरत सरकार र दुग्ध किसान बिच ५ बुँदे सहमति,चैत्र २१ सम्म रकम भुक्तानी गरिसक्ने

काठमाडौं । 

नेपाल सरकार र आन्दोलनरत दुग्ध किसान बिच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू हाललाई स्थगन गरिने भएको हो ।

सहमति अनुसार दुग्ध उत्पादक कृषकहरूलाई दुध बिक्री गरे बापत पाउनुपर्ने रकम निरन्तरता दिँदै २०८० पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरूले यही २०८० साल चैत्र २१ सम्म गरिसक्ने भनिएको छ । 

त्यस्तै प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी निरन्तर खरिद गरिरहने पनि सहमति भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लि.नेपाल, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवबिच किसानका मागहरू पूरा गर्ने सम्बन्धमा सहमति गरिएको हो ।