लगानी सम्मेलनका लागि सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रसँग सञ्चार मन्त्रीको आग्रह

काठमाडौं । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी वैशाखमा हुने भनिएको लगानी सम्मेलनका लागि सूचना प्रविधि क्षेत्रका परियोजनामा तयारी गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छिन् ।

नेपाल उद्योग परिसङ्घको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीका पदाधिकारीसँग आज भएको भेटमा उनले यस्तो आग्रह गरेकी हुन् ।

लगानी सम्मेलनमा अन्य क्षेत्रको जस्तै सूचना प्रविधि क्षेत्रको लगानी प्रस्तुत गर्न आवश्यक रहेकाले आवश्यक परियोजना भए लिएर आउन आग्रह गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा परियोजना बैंक बनाउनुपर्ने बताइन् । उनले सरकारको नीति तथा कार्यक्रम र बजेटका सवालमा पनि सूचना प्रविधिमा के गर्न सकिन्छ सरकारलाई लिखित सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरे ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरेदेखि नै डिजिटल रुपान्तरणलाई रणनीतिको रुपमा राखिए पनि नेपालमा सूचना प्रविधिलाई साझा दृष्टिकोण नै बन्न नसकेकाले यसमा आवश्यक लगानीको वातावरण नबनेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारी, निजी क्षेत्र र जनस्तर सबैतिर सूचना प्रविधिप्रतिको साझा बुझाइ आवश्यक रहेको बताएकी छन्।