इन्टरनेट बैंकिङ्गबाट प्रतिदिन २० लाखसम्म कारोबार गर्न सकिने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन २० लाख रुपैयाँ निर्धारण गरेको छ ।

केन्द्रीय बैंकले मोबाइल एप्लिकेशन (क्यूआर कोड समेत) मार्फत प्रतिदिन ३ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेगरी कारोबार सीमा वृद्धि गरेको हो । 

कुनैपनि व्यक्तिले आफ्नो मोबाइल एप मार्फत (क्यूआर कोडसमेत) एक दिनमा ३ लाख रुपैयाँसम्मको भुक्तानी डिजिटल माध्यमबाट गर्न सक्नेछन् ।

बैंकका अनुसार कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न, नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन र सेवा शुल्क जस्ता विविध शुल्कहरू भुक्तानीमा भने उक्त सीमा लागू नहुने जनाएको छ ।

यस्तै विद्युत सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न, धितोपत्र व्यवसाय गर्न अनुमतिपत्रप्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रको कारोबार गरेबापत तोकिएको बैंक खातामा रकम भुक्तानी गर्न र राष्ट्र बैंकबाट अनुमति प्राप्त तोकिए बमोजिमका विशेष भुक्तानी सेवाका लागि पनि यस्तो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।