नेपालमा आर्थिक तथा प्राविधिक सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्री पुनको आग्रह

काठमाडौं ।

अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोससँग भेट गरेका छन् । 

अर्थमन्त्रालयमा भएको उक्त भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन उनीसँग आग्रह गरेका हुन् । अर्थमन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

विश्व बैंक नेपालको ठूलो मध्येको एक विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको अर्थमन्त्री पुनले बताए । सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता दिँदै अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेकामा उनले जोड दिए ।