राष्ट्र बैंकले ३८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३८ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रुपैयाँ र उपदान तथा पेन्सन कोषमा रहेको १४ करोड गरी कुल ३८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

बैंकले एक सूचना जारी गर्दै विभिन्न सर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थामा कोषको ३८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको हो । सूचना अनुसार राष्ट्र बैंकले यसमध्ये क वर्गका वाणिज्य बैंकमा ३० करोड ४० लाख, विकास बैंकहरुमा ५ करोड ७० लाख रुपैयाँ र वित्त कम्पनीहरुमा १ करोड ९० लाख रुपैयाँ गरी कुल ३८ करोड रुपैयाँ राख्न लागेको हो ।

राष्ट्र बैंकले यो रकम २०८० चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमा भित्र रहेको, न्यूनतम पूँजीकोष अनुपात कायम रहेको लगायतका सर्त पुगेका बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतिमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।