मैलुङ खोला हाइड्रोको शेयर कारोबार स्थगित

काठमाडौं । 

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको कारोबार स्थगित गरेको छ ।

शेयर मूल्य सेन्सेटिभ सूचना नेप्सेलाई समयमै जानकारी नगराउँदा नेप्सेले कम्पनीको कारोबार स्थगित गरेको हो । 

नेप्सेका अनुसार कम्पनीले चैत ७ गते बुधबार दिउँसो ३:३० बजे संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट २.३३८ प्रतिशत लाभांश वितरण निर्णय गरेको थियो ।  तर कम्पनीले त्यसबारे नेप्सेलाई आज बिहान ११:१७ बजे मात्रै जानकारी गराएको थियो । 

कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) व्यवस्था पालना नगरेको भन्दै नेप्सेले उक्त विनियमावलीको १६(१)(ख) को व्यवस्था बमोजिम धितोपत्र कारोबार स्थगन गरि अबको तीन कार्यदिन भित्र के कति कारणले कारोबार समयमै सञ्चालक समितिको बैठक बसी लाभांश प्रस्ताव गरिएको हो भन्ने स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।