नेपालको जलविद्युतमा लगानी गर्न रुसलाई अर्थमन्त्री पुनको आग्रह

काठमाडौं । 

अर्थमन्त्री वर्षमान पुनले जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन् । बुधवार सिंहदरबारमा भएको भेटवार्तामा 

रुसी राजदूत अलेक्सेई ए.नोभिकोभलाई पुनले नेपालको जलविद्युत र मल उत्पादनमा लगानी ल्याउन आग्रह गरेका हुन् ।

मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउन राजदूत नोभिकोभलाई आग्रह गरे । रुस र नेपालबीच लामो सम्बन्ध रहेको तथा रुस सरकारले पूर्वपश्चिम राजमार्गको एक खण्ड तथा जलविद्युतसहित अन्य पूर्वधार निर्माणमा नेपाललाई सहयोग गरेको स्मरण मन्त्री पुनले गरे । 

रुसबाट कच्चा तेल ल्याएर भारतले प्रशोधन गरी युरोपको बजारमा निर्यात गर्न थालेको, रुसी विद्यार्थीहरू अत्यधिक सङ्ख्यामा अध्ययनका लागि चीन आउने क्रम बढ्नु तथा रुसी बजारमा चिनियाँ कम्पनीका गाडीको खपत चुलिनुजस्ता कारणले रुस चीन र एसियातिर फर्कन खोजेको पुष्टि हुने उनको भनाइ थियो ।