स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले आज (फागुन १८ गते) आइतबारदेखि एफपीओ निष्कासनमा ल्याएको छ । यस लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो ।
लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गर्न लागेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो शेयरका लागि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि चैत ३ गतेसम्म लम्बिनेछ।
हाल लघुवित्तको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।