संसदमा सरकारले आज विश्वासको मत लिँदै

काठमाडौं । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री भएको १४ महिनाको अबधिमा दाहालले तेश्रो पटक विश्वासको मत लिन लागेका हुन्।

२०७९ पुस १० मा एमालेको समर्थन तेस्रो पटक प्रधानमन्त्री बनेका दाहालले पहिलो पटक पुष २६ गते संसदमा विश्वासको मत लिएका थिए। यही कार्यकालका दोस्रो पटक चैत्र ६ गते विश्वासको मत लिएका थिए भने एउटै कार्याकालमा अहिले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

नेकपा एमाले, रास्वपा, राप्रपालगायतका दलहरुको समर्थनमा २०७९ साल पुस १० गते दाहाल तेस्रो पटक प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री दाहालले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए।

पहिलो पटक विश्वासको मत लिँदा नेपाली कांग्रेससहितको समर्थनमा उनले २ सय ६८ मत पाएका थिए जुन ९८ प्रतिशत भन्दा बढी हो। संघीय संसदमा सांसदहरुको २ सय ७५ रहेको छ।

प्रधानमन्त्री दाहालले एमालेसँगको गठबन्धन छोडेर नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाएपछि एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो। त्यसपछि दाहालले पुनस् दोश्रो पटक चैत्र ६ गते विश्वासको मत लिए। यसपटक उनले १ सय ७२ मत प्राप्त गरेका थिए।

यही फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसहित रास्वपा, नेकपा एकिकृत समाजवादी, जसपा लगायतको नयाँ गठबन्धन बनेपछि यही कार्यकालमा दाहालले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो।

हाल कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले नयाँ गठबन्धनसहितको सरकारका लागि विश्वासको मत लिन लागेका हुन्। विश्वासको मत लिने बारे संसद सचिवालयमा प्रधानमन्त्री कार्यालयबाट आइतबार पत्र प्राप्त भएको संसद सचिवालयले जनाएको छ।

फागुन २१ गते बनेको नयाँ समीकरणअनुसार प्रधानमन्त्रीलाई एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदको समर्थन छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसदको समर्थन भए पुग्छ।