पियोर इनर्जी लिमिटेडको आइपीओ आजदेखि बिक्री खुला

पियोर इनर्जी लिमिटेडले आज (फागुन २० गते) मंगलबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ ।


कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाखरुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । यस कम्पनीले १ सय अंकित मूल्यमा १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित बाँके जिल्लाका स्थानीयलाई जारी गरेको हो ।


यसका साथै कम्पनीले जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।


यसमा आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्तासम्मको दागि आवेदन दिन सक्नेछन् । यता, वैदेशिक रोजगारमा रहेका नेपालीले पनि न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


स्थानीयले यस कम्पनीको आइपीओमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।


कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, नबिल बैंकका कोहलपुर र नेपालगञ्ज शाखा कार्यालय, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगञ्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्युरोड नेपालगञ्ज र वि पि चोक शाखा कार्यालय तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।


यस कम्पनीको हालको अपरिष्कृत प्रक्षेपित पौष मसान्त आ.व. २०८१/८२* वित्तिय विवरण यसप्रकार रहेको छ ।

प्रति शेयर नेटवर्थ (रु.) ९६.८२
प्रति शेयर आम्दानी (रु.) ०.३८
संचित नाफा/नोक्सान (रु.) (२,०३,४६,३३६.२०)


वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।