बैंक, वित्तीय संस्थाको छाता संगठनहरुले भने ‘बैंकर्स पक्राउले बैंकिङ्ग क्षेत्र आतंकित छ’

काठमाडौं ।

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेपछि  बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठनहरुले समस्त बैंकिङ्ग क्षेत्र चिन्तित र आतंकित बनेको बताएका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, र नेपाल लघुवित्त बैंकर्स संघले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ्ग क्षेत्र जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको धरपकड एवं पक्राउ बारे समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको बताएका हुन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। उनीहरुले बैंकिङ क्षेत्रजस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको धरपकड एवं पक्राउबारे समस्त बैंकिङ क्षेत्र नै आतंकित बनेको जनाएका छन्। कम धितो राखी बढी कर्जा दिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ११ जना बैंकरलाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै उनीहरुले आफ्ना धारणा सार्वजनिक गरेका हुन्। उनीहरुले आज दिनभर राष्ट्र बैंक, सीआईबी र गृह मन्त्रालयका अधिकारीहरुसँग यस विषयमा छलफल पनि गरेका थिए। 

विज्ञप्तिमा यस्तो छ  । 

 ‘नेपालका बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, नेपाल राष्ट्र बैंकबाट जारी हुने निर्देशनहरु तथा अन्य प्रचलित ऐन–नियमका साथै बैंकिङ क्षेत्रका मान्य सिद्धान्तहरुसमेतको पालना गरी पारदर्शी तरिकाले बैंकिङ कारोबार गर्दै आइरहेको सबैमा अवगत नै छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोवार गर्नका लागि इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको अधिनमा रही संस्थाहरुको आ–आफ्नै नीति तथा कार्यविधि बमोजिम आ–आफ्नो अधिकार क्षेत्रभित्र रही निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएका छन्। बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानीसम्बन्धी कार्य गर्दा सोमा संलग्न हुने सबै कर्मचारी तथा सञ्चालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएको र कथंकदाचित कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सोमा संलग्न व्यक्तिहरुलाई प्रचलित कानुन बमोजिम कारवाही हिजोका दिनमा पनि भएको र अब पनि हुनुपर्नेमा हामीमा द्विविधा रहेको छैन। यसका लागि सम्बन्धित निकायलाई आवश्यक परेको खण्डमा बैंकका कर्मचारी, सम्बन्धित बैंक र नेपाल बैंकर्स संघ सहयोग र समन्वयको लागि सधैँ तत्पर रहेको अवगत गराउन चाहन्छौँ।’

प्रचलित कानुन, नियमनकारी निकायबाट जारी निर्देशनहरु तथा बैंकिङ क्षेत्रको मान्य सिद्धान्तहरुको अधीनमा रही काम गरिरहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरुलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरुले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै अनाहकमा कारबाहीको भागिदार बनाइनु नहुने विज्ञप्तिमा उल्लेख छ। ‘अपराधी उम्किन नहुने तथा निर्दोषले सजाय पाउन नहुने भन्ने न्यायका सिद्धान्तमा हामी प्रतिबद्ध रहेका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै, बैंकिङ कसुरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया ‘पहिला सुन अनि थुन’ हुनुपर्नेमा ‘पहिले थुन अनि सुनको’ प्रक्रियाले बढावा पाएको छ। यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भीर असर पुर्याएको छ, यसबाट यस क्षेत्रमा काम गर्ने कर्मचारीहरुको मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा समेत यसले असर पुग्न जाने कुरा सम्बन्धीत सबैलाई अवगत गराउन चाहन्छौँ।’

बैंक तथा वित्तीय संस्थाहरुले चलरअचल सम्पत्तिबाहेक परियोजना, व्यापार, नगद प्रवाह लगायत थुप्रै आधारहरु हेरेर नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको अधीनमा रही कर्जा प्रवाह गर्ने गरेको विज्ञप्तिमा स्पष्ट पारिएको छ। ‘ग्राहकको हक–हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताहरुको बचतलाई सुरक्षित गर्दै ऋणीलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पुँजी निर्माणमा यस क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसरी पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्घान्तलाई अक्षरस पालना गर्दै अगाडि बढीरहेको संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भयरहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताको प्रत्याभूति गराउन सम्बन्धित निकायसँग हामी माग गर्दछौँ।’

बैंकिङ क्षेत्रजस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको धरपकड एवं पक्राउबारे समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको विज्ञप्तिमा जनाइएको छ। ‘यसबाट बैंकिङ क्षेत्रका कर्मचारीहरुको मनोबलसमेत खस्कन गएका हुँदा राज्यका सम्बन्धित निकायहरु यस विषयमा गम्भीर भइदिन हामी आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘कर्जा लगानीका सम्बन्धमा नियमकिय निर्देशनको परिधिभित्र रही आ–आफ्नो कर्जा नीति तथा कार्यविधिभित्र बसी बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले गरेको काम–कारवाहीलाई नै आधारमानी हुने घडपकड नरोकिएमा यस क्षेत्रमा ठूलो चुनौती आउन सक्ने भएकाले तत्कालै यस तर्फ गम्भीर भइदिनसमेत हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौँ।’