राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने गभर्नर अधिकारीको भनाई

काठमाडौं । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताएका छन् । 

राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रद्वारा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा आयोजित आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । 

अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका तथ्याङ्क र सूचनाहरू जटिल प्रकृतिका र प्राविधिक हुने भन्दै गभर्नर अधिकारीले त्यसलाई सर्वसाधारणले सहज ढंगले बुझिने भाषामा प्रस्तुत गर्नुपर्ने आवश्यकता रहेको बताए । 

अहिलेको अवस्थामा अर्थतन्त्र र राष्ट्र बैंक एवम् बैंकहरू तथ्याङ्कको भारीले थिचिएको उनको भनाइ छ । संस्थागत रुपमा तयार भएका त्यस्ता तथ्याङ्कहरू सहज ढंगबाट आर्थिक पत्रकाहरु मार्फत आम सर्वसाधारणमा प्रवाह हुन जरुरी भएको गभर्नर अधिकारीले बताए ।

गभर्नर अधिकारीले आर्थिक पत्रकारहरूलाई प्रदान गरिने यस्तो प्रशिक्षण नियमित गर्ने भन्दै प्रशिक्षणको लाभ उठाउन सहभागी आर्थिक पत्रकारहरूलाई आग्रह गरे ।