हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ जारी गर्ने

हिमालयन बैंक लिमिटेड (HBL) ले असार ३२ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गर्न लागेको हो।

यस बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्न लागेको हो । जसअनुसार बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गर्न छ । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।

सो एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन ४ गते हुनेछ। सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार १४ गतेसम्म लम्बिनेछ। यसमा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।