हिम स्टार उर्जा कम्पनीले जेठ ३० गतेदेखि आईपीओ निष्काशन गर्ने

हिम स्टार उर्जा कम्पनीले जेठ ३० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्ने भएको छ । 



सो शेयर खरिदका लागि ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गा.विस वडा नं. १, २, ३, ४, ५ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।


यसका साथै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९३ लाख २५ हजार रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो । जसअनुसार प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ९३ हजार २५० कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्नेछ ।



यस आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असार १३ गते हुनेछ भने ढिलोमा असार २९ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार १३ गतेभित्र आवेदन दिनु पर्नेछ।



आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।