पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।
कम्पनीले यसअघि स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ । यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ । त्यसैगरी कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार कित्ता र कर्मचारीका लागि २८ हजार ८०० कित्ता पनि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
यसमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।